Logo

मुख्य समाचार

बेलायतमा झल्कियो मिनी नेपाल



लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतवार सम्पन्न मेलामा  नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता  विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी बिक्री स्टलहरु राखिएका थिए ।

मेलामा बिभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरु प्रस्तुत गरेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिए ।

मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड प्रदान गरियो । यस्तै  सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत  गरिएको थियो ।

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान  गरिएको थियो । नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ । नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

यस बर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरुस्कृत भएको छ । झाँकीमा तामाङ समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए ।

मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष कुल आर्चाय, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत विभिन्न देशका कुटनीतिक  नियोगका पदाधिकारीहरु, नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ५२ बजे