Logo

Breaking News 1

भुटानको ‘ड्रुक एयर’ ले पोखरामा व्यावसायिक उडान भर्ने



काठमाडौँ । भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए । यसअनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ ।

उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।

२२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ । ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो ।

यो एयर आजभन्दा ४२ वर्षअघि सन् १९८१ मा स्थापना भएको थियो । यस्तै, हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । सुरुमा पारो–पोखरा उडान भरे पनि बिस्तारै पोखरा–दिल्ली–पारो उडान भर्ने कम्पनीको योजना रहेको बताइन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १ : ५० बजे