काठमाडौं । नेकपा एकीकृत समाजवादी गठन भएको दुई वर्ष पुरा भएको छ । दुईवर्षअघि आजकै दिन नेकपा एमाले परित्याग गरेर माधवकुमार नेपाल, झलनाथ खनालदेखि रामकुमारी झाँक्रीलगाएतले नयाँ पार्टी गठन गरेका थिए । निर्वाचन आयोगमा आजकै दिन दुईवर्षअघि तत्कालिन जनता समाजवादी पार्टी समेत विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी समेत दर्ता भएको थियो ।
चुनावमा लोसपाले आशालग्दो मत पाएको भएपनि नेकपा एकीकृत समाजवादीले भने अपेक्षाअनुसार मत पाउन सकेन । चुनावी परिणामले नेकपा एकीकृत समाजवादी राष्ट्रिय मान्यता पाउन सक्ने दलको हैसियतमा आएन । जसका कारण नेकपा एकीकृत समाजवादी परित्याग गर्ने नेताहरुको संख्या बढ्न थालेको छ ।
अरु त अरु नेकपा एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनाल समेत पार्टी नेतृत्वको आलोचना शुरु गरेका छन् । पार्टी स्थापना दिवसकै कार्यक्रममा समेत नेता खनालले त्यस्तै आशय व्यक्त गरे । ‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ’, उनले भने ।
यता अध्यक्ष माधवकुमार नेपालले भने पार्टी विस्तारको काम अघि बढेकाले एमाले आतंकित भएको दाबी गरेका छन् । जबकि केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादीको सुर्खेत जिल्ला कमिटि नै एमालेमै समाहित भएको छ ।
प्रतिक्रिया