Logo

Breaking News 1

सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय समिति गठन गर्न सत्तारुढ दल तयार, संसदको अवरोध हट्ने



काठमाडौं । सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरिय समिति गठन हुने भएको छ ।

सोमबार राती बसेको मुख्य राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले समिति गठन गर्ने सहमति गरेको हो । प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले संसदको अवरोध खोल्न समिति गठन गर्ने र समितिको जिम्मेवारी के हुने भन्ने विषयको मस्यौदा तयार गर्न एमालेबाट सुवास नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

दोस्रो तहका नेताहरुको टोलीले मंगलबार दिउँसो २ बजेसम्म तयार गरिसक्ने र समिति गठनको प्रक्रिया शुरु हुने भएपछि संसदको अवरोध हट्ने भएको छ । बैठकपछि प्रतिक्रिया दिदै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले समिति गठन गर्न सरकार तयार हुने भएपछि मंगलबारबाट संसदको अवरोध हट्ने बताए ।

कार्यदलले मंगलबार बिहानसम्म मस्यौदा तयार गरेर दिउँसो २ बजे शिर्ष नेताहरुको बैठक बसेर सहमति हुने एमाले प्रमुख सचेतक गिरीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत समिति गठन गर्न सत्तारुढ दल तयार भएपछि अब संसदको अवरोध हट्नेमा आशावादी रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ११ : १७ बजे