काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानविन समिति गठन नभएसम्म संसद चल्न नदिने अडानबाट नेकपा एमाले पछि हट्न सक्ने संकेत देखिएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपनि दलहरुका बिचमा संसदको अवरोध कसरी खोल्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समिति गठन गर्ने कि सीआइवीको अनुसन्धानलाई १५ दिन हेरेर आवश्यक निर्णय गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।
‘ ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ । फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन,’ नेता लामिछानेले भने, ‘आजै सहमति भएन । तर छलफल संसद् खुलाउने विषयमै केन्द्रीत छ ।’
बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको बताए । ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो,’ उनले भने ।
यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने सुन प्रकरणको छानविन सीआइवीले गरिरहेको र अर्को समिति गठन गर्दा अनुसन्धान नै प्रभावित हुने भन्दै १५ दिनसम्म अनुसन्धानको अबस्था हेरेर समिति गठन सकिने संकेत सोमबारको बैठकमा गरेका छन् । यसअघि समिति गठनको विषय समेत सुन्न नचाहेको सत्ता गठबन्धन केही समयपछि गठन गर्न तयार बनेको देखिएकाले एमालेले आफ्नो अडान छाड्नसक्ने संकेत देखिएको छ ।
यसको संकेत आइतबार मात्रै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले समेत गरेका थिए । धुलिखेलमा भएको कार्यक्रममा उनले संसद अवरोध गर्नु कानूनविपरित रहेको बताएका थिए । यहीबिचमा राष्ट्रपतिले संसद अवरोध अन्त्य गर्ने विषयमै छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिक्रिया