Logo

Breaking News 1

ललिता निवास जग्गा प्रकरण : म तर्सेर भाग्ने खालको मान्छे होइन– माधवकुमार नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन् ।

ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वाेच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन् ।

विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताएका हुन् ।
उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किएका उनले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ०२ बजे