Logo

Breaking News 1

सभामुखले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने



काठमाडाैं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ-आफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।

आजको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो ।

उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ४६ बजे