काठमाडौँ । आमचुनाव भएको एक वर्ष नबित्दै राजनीतिक दलहरुले ४ वर्षपछि हुने चुनावको तयारीमा लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले मिसन ८४ अभियान शुरु गरिसकेका छन् । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठकमा समेत आगामी चुनावको रणनीतिबारे छलफल जारी छ । आगामी चुनावमा अहिलेको भन्दा धेरै सीट ल्याउनेगरी काम गर्नुपर्ने विषय माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठकमा उठेको छ ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सार्वजनिक समारोहमै मिसन ८४ अनुसारका काम गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिइरहेका छन् । केही समय सरकारमा समेत रहेर अहिले सत्ताबाहिर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी चुनावमा बहुमत ल्याउनेगरी अघि बढिरहेको बताएको छ । उसले पनि मिसन ८४ अभियान शुरु गरिसकेको छ ।
अर्कातर्फ संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले समेत आगामी चुनावलक्षित गतिबिधि शुरु गर्ने संकेत देखाइसकेको छ । कांग्रेसले संगठन सुदृढिकरणका लागि अभियान शुरु गर्ने घोषणा गरेको छ । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा पठाउने तय गरिसकेको छ ।
पछिल्लो चुनावबाट उदाएको जनमत पार्टीले २०८४ को निर्वाचन लक्षित ‘मिसन ८४’ अभियान चलाउने भएको छ । अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने निर्णय बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले गरेको हो ।
बैठकले २०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भन्ने एजेन्डामा छलफल भएको र ‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय पार्टीले गरेको छ ।
प्रतिक्रिया