Logo

Breaking News 1

मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न 



महोत्तरी । मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ ।  यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ ।

विशेषगरि  पर्साको वीरगञ्ज, धनुषा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकारकै स्थिति सिर्जना भएको छ । साउनको तेस्रो  साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।

केही दिनअगाडि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो  । खडेरी परेसँगै मधेश प्रदेशवासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन् ।

शनिबार मधेश प्रदेश सरकारका अर्थ र जल तथा सिंचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए ।छलफलमा थप समस्या आउन नदिने तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए ।

‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरीहरु बनाएर यसको रिचार्ज गर्नुपर्ने बिषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरुले  हाम्रो सुझावलाई गम्भीररुपमा लिनुभएको छ ।’

पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन् । नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन् ।  ‘पहिले नियमित लगाउने बालीहरु हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : २६ बजे