काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेकोमा भोली स्वदेश फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीयसचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए ।
प्रतिक्रिया