Logo

विचार

नेकपा व्यूताउने कुरा ‘काशी जानु कुतीको वाटो’ भनेजस्तै



काठमाडौं । यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन् । यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरु नै वामपन्थी एकताको कुरा गर्न थालेका छन् ।

नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमालेका विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो । नेकपा एमाले यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।

अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक धु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरणको वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा एमाले त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ ।

अव हरेकले महसुस गर्ने वेला भयो– विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : १२ बजे