Logo

Breaking News 1

सबै महानगरले ल्याए बजेट, सबैभन्दा ठुलो काठमाडौंको बजेट



काठमाडौं । देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकाले असार ६ गते नै बजेट ल्याएको भएपनि काठमाडौंसहित अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् ।

६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३।७२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६।२८ प्रतिशत बजेट ल्याएको हो ।

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिकाले भने आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्ब १५ करोडको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब रुपैयाँ कम बजेट हो ।

विराटनगरपालिका महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ६ गते नै महानगरपालिकाले बजेट सार्वजनिक गरेको थियो । वीरगञ्ज महानगरले चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : १४ बजे