Logo

अर्थ

पोखरा महानगरको बजेट २ अर्ब घट्यो



काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट पेस गरेको छ ।

आगामी आर्थिक वर्षका लागि पोखरा महानगरले ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा झन्डै २ अर्ब कम छ। संघीय तथा प्रदेशद सरकारले दिने अनुदान घटेको र आन्तरिक आम्दानी पनि लक्ष्यअनुसार उठाउन नसकेकाले बजेटको आकार घटेको हो ।

चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ९९ करोड रूपैया बजेट ल्याएको भएपनि ४ अर्ब बढिको लक्ष्य भएपनि एक अर्ब १९ करोड मात्र राजश्व संकलन भएको छ ।

चालू आर्थिक वर्षमा ४३ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको महानगरपालिकाले आगामी वर्षको बजेटमा संघीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेशबाट दस करोड २३ लाख ६२ हजार र आन्तरिक आम्दानीबाट दुई अर्ब २७ करोड ८७ लाख रूपैयाँ जुटाउने उल्लेख छ।

यस्तै संघीय राजश्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाँटबाट ८ करोड २५ लाख, स्थानीय राजश्व बाँडफाँटबाट एक अर्ब १ करोड ७५ लाख र संघीय सहरी विकास आयोजनाबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

कुल बजेटमा कम हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रूपैयाँ चालु आर्थिक वर्षको बजेटबाट खर्च हुन नसकेको मौज्दातबाट बेहोर्ने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ४३ बजे