काठमाडौं । समाजवादी मोर्चा बनाउने अभियान शुरु गरेका नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराई अहिले गठन भएको समाजवादी मोर्चामा छुटेका छन् ।
नेकपा एमालेले विरोध गरेको मोर्चामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्ददेखि उपेन्द्र यादवले समेत स्थान पाउँदा भट्टराई भने पाखा लागे । उनले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया त जनाएका छैनन् । तर असन्तुष्ट भने देखिएका छन् ।
मोर्चा घोषणपछि बाबुरामले भनेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ती भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’
बाहिर चर्चा गरिएअनुसार जसपा अध्यक्ष उपेन्द्र यादवको दबाबले भट्टराईलाई समाजवादी मोर्चामा समावेश हुनबाट रोकिएको भनिएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भट्टराईको सम्बन्ध लामो समयदेखि उतारचढावपुर्ण देखिन्छ । त्यसकै कारण दाहालकै कारण समेत भट्टराई छेउँ पुगेको समेत आँकलन भइरहेको छ ।
युद्धकालमै समेत भट्टराईमाथि दाहालले कारबाही गरेको विवरण सार्वजनिक भएको थियो भने त्यसपछि संसदीय मोर्चामा समेत भट्टराई–दाहाल सम्बन्ध उतारचढावपुर्ण रहेको थियो । त्यसोत गत वर्षको मंसीरमा सम्पन्न चुनावमा आफ्नो निर्वाचन क्षेत्र दाहाललाई छाडेका भट्टराई त्यसयता राजनीतिमा त्यति बढि सक्रिय देखिएका छैनन् । निरन्तर गोरखा पुगिरहेका भट्टराईको अबको बाटो के भन्ने समेत स्पष्ट भइसकेको छैन ।
विक्रम सम्बत् २०७२ सालमा बाबुराम माओवादीबाट अलग्गिदै भनेका थिए ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने ।’ माओवादी छाडेर उनले नयाँ शक्ति गठन गरे । बाबुरामले माओवादी छाडेपछि प्रचण्डले भनेका थिए, ‘मैले ३० वर्ष बाबुरामलाई झेले कसैले तीन वर्ष झेलेर देखाइदिऊन् ।’
अहिले चुनावका बेला एकअर्काको प्रशंशा गरेका दाहाल–भट्टराई फेरी फरक फरक बाटोमा देखिएका छन् ।
प्रतिक्रिया