काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा बनाउने तयारी भइरहेको जानकारी गराएपछि समाजवादी मोर्चाको बहश फेरी शुरु भएको छ । केही समयअघिदेखिको यो प्रयास अहिले अन्तिम चरणमा पुगेको बताइएको छ ।
नेताहरुका अनुसार शुक्रबार समाजवादी मोर्चाको घोषणा हुनसक्नेछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारी गरेको नेपाल समाजवादी पार्टी भने मोर्चामा सहभागी नहुने बताइएको छ । वावुराम भट्टराईको नेसपा समाजवादी मोर्चामा सहभागी नहुनुको कारण भने जसपा रहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र नेसपा अध्यक्ष भट्टराईबिचको टकरावले तत्काल नेसपा समाजवादी मोर्चामा नजोडिने बताइएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका लागि अहिले आएर समाजवादी मोर्चाको आवश्यकता किन ? भन्ने बहश भने शुरु भएको छ । सामान्यतः मोर्चा बनाउने चलन आन्दोलनका बेला मात्रै हुन्छ । तर सरकारमै रहेका दलहरुका बिचमा मोर्चा बनाउने तयारीले सत्तासहयात्री दल नेपाली कांग्रेसमाथि दबाब बढाउनका लागि समेत प्रयोग हुनसक्ने देखिएको छ ।
किनकि ३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लव नेतृत्वको नेकपाएक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भएपनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएको देखिएको छ ।
मोर्चामा सहभागी हुने तयारी गरिरहेका अन्य दल संसदीय राजनीतिमा आइसकेको भएपनि विप्लव नेतृत्वको नेकपा भने अहिले पनि साम्यवादको नारा लगाइरहेको छ । पछिल्लो समय माओवादीका नेताहरुभन्दा अझ अघि बढेर प्रचण्डको साथमा रहेको अभिव्यक्ती दिने विप्लव समेत मोर्चामा सहभागी हुने तयारीले अनेक टिप्पणी भइरहेको छ ।
अर्कातर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा व्यूँत्याउने विषयमा समेत धारणा सार्वजनिक गरिरहेका छन् । पार्टीका नेताहरु एमालेमै फर्कन थालेपछि अध्यक्ष नेपालले नेकपा व्यूत्याउने विषय चर्चामा ल्याएको बुझ्न कठिन छैन । तर यतिबेला समाजवादी मोर्चाको आवश्यकता किन ? भन्ने प्रश्नको जवाफ भने तत्कालका लागि भेटिएको छैन ।
प्रतिक्रिया