काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अचानक बोली फेर्ने अबस्थामा पुगेका छन् । बजेट नसच्याए सरकार ढाल्ने धम्की दिएका नेपालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि आफ्नै बोली फेरेका छन् ।
अध्यक्ष नेपालले अहिलेकै अबस्थामा बजेट पारित भए सरकार समस्यामा पर्ने बताएका थिए । आइतबार अध्यक्ष नेपालले संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै भनेका थिए,‘‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ ।’
आइतबार मात्रै होइन, अष्ट्रेलिया भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा समेत अध्यक्ष नेपालले बजेट शिर्ष नेताका निर्वाचन क्षेत्रकेन्द्रीत भएको सुनेको बताएका थिए । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले यथास्थितीमा बजेट पारित गर्न खोजे समर्थन नगर्ने चेतावनी दिएका थिए ।
आइतबारसम्म बजेट यथास्थितीमा पारित गर्न नदिने बताउँदै आएका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वकै दलको समेत समर्थनमा विनियोजन विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा बसेर बजेटको विरोध नगर्न नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका थिए ।
सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका थिए ।
त्यसलगत्तै अध्यक्ष माधवकुमार नेपालले सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । सार्वजनिक रुपमा अध्यक्ष नेपालले एकदिनमै बोली फेरेको भएपनि के कारणले बोली फेरे भन्ने सार्वजनिक भइसकेको छैन । तर बजेट विनियोजनका बारेको असन्तुष्टि सम्बोधन हुने संकेत पाएपछि अध्यक्ष नेपाल सन्तुष्ट बनेको बताइएको छ ।
प्रतिक्रिया