काठमाडाैं । युरोपेली सङ्घ (ईयू)ले ट्युनिसियालाई सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्न र भूमध्यसागरमा अनियमित आप्रवासीको प्रवाह कम गर्न आइतबार एक अर्ब युरोभन्दा बढी सहयोगको प्रस्ताव गरेको छ । उत्तर अफ्रिकी देश, अत्यधिक ऋणी र बेलआउटको लागि वार्तामा छ । यो युरोपको खतरनाक यात्राको प्रयास गर्ने आप्रवासी र शरण खोज्नेहरूको लागि प्रवेशद्वार हो ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले इटालियाली र डच प्रधानमन्त्रीहरूसँगको संयुक्त भ्रमणका क्रममा ट्युनिसियालाई दीर्घकालीन सहायताका लागि ९० करोड युरो र तत्काल १५ करोड युरो सहयोग गर्न तयार रहेको बताएका थिए । व्यापार र लगानीका साथै यसले ट्युनिसियालाई सीमा व्यवस्थापन र मानव बेचबिखनविरुद्ध लड्न सहयोग गर्ने र यस वर्ष १० करोड युरो बराबरको सहयोग प्राप्त गर्ने उनले बताए ।
राष्ट्रपति काइस सैयदसँगको चारपक्षीय वार्तापछि भोन डेर लेयेनले यसै महिनाको अन्त्यमा हुने अर्को युरोपेली शिखर सम्मेलनअघि इयू–ट्युनिसिया सम्झौतामा हस्ताक्षर हुने आशा व्यक्त गर्नुभएको छ । सन् २०११ मा अरब स्प्रिङको लोकप्रिय विद्रोहको उद्गमस्थल बनेदेखि नै युरोपेली सङ्घ ट्युनिसियाको शीर्ष व्यापार र लगानी साझेदार भएको र यसले ट्युनिसियाको लोकतन्त्रको मार्गलाई समर्थन गरेको बताउँदै उहाँले यसलाई ‘लामो र कठिन बाटो’ को संज्ञा दिए ।
भोन डेर लेयेनले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र उहाँका डच समकक्षी मार्क रुटसँग ट्युनिसियाको भ्रमण गरेका थिए । अधिकारवादी समूहहरूले नागरिक स्वतन्त्रतालाई कुण्ठित गरेको र विपक्षी कार्यकर्ताहरूलाई जेलमा हालेको भन्दै राष्ट्रपति सैयदमाथि ‘अधिनायकवादी प्रवृत्ति’ देखाएकोे आरोप लगाएका छन् । आप्रवासी आगमन घटाउन दबाबमा रहेका इयू सरकारहरूले गत हप्ता ट्युनिसियालगायत ‘सुरक्षित’ ठानिएका आफ्नो मूल देश वा ट्रान्जिट देशहरूमा आप्रवासीको फिर्तीलाई द्रूत गतिमा अघि बढाउने कदममा सहमति जनाएका थिए ।
प्रतिक्रिया