Logo

Breaking News 1

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई गुहारिएको हो ।

शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनी सहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालोपत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्वन्धित दलका शिर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले लिएको छ । शाही सिद्धिसाहीका मालिक हुन् । यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालोपत्रेको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ । मैनाचुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।

झापा निवासी अधिकारी एमाले नेता हुन् । ‘ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,’ मेयर भट्टराईले भने, ‘प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।’

नगरपालिकाले १५ दिनभित्र सम्वन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ४५ बजे