Logo

मुख्य समाचार

केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोगविरुद्धको खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राईले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।

केपिलासगढीका एक वर्षभित्र जन्मेदेखि १५ महिनासम्मको २३४ जना र १६ महिनादेखि २३ महिनासम्मको ११० बालबालिकालाई नेपाल सरकारले निःशुल्क प्रदान गर्ने १३ प्रकारका खोप लगाइदिएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने बाटो खुलेको हो ।

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न योगदान पुर्‍याउने स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको छ । यस्तै, आगामी वर्ष सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने र कसैलाई खोपबाट नछुटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरिएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : १२ बजे