Logo

Breaking News 1

संसदमा कसरी भयो एमाले, रास्वपा र राप्रपाको एकै स्वर ?



काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुले आइतबारकोे संसद बैठक अवरुद्ध गरे । नेपालको संसदीय इतिहासमा सबैभन्दा लामो समयसम्म संसद अवरुद्ध गर्ने रेकर्ड बनाएको एमालेले आइतबारबाट फेरी संसद अवरोध शुरु गरेको हो ।

रोचक कुरा त के छ भने दुईवर्ष अघि समेत बजेट अधिवेशनकै बेला नेकपा एमालेले निरन्तर संसद अवरोध गरेको थियो । जुनबेला नेपालको इतिहासमै पहिलोपटक मुलुक ‘बजेट होलिडे’को अबस्थामा पुगेको थियो । सरकारसँग स्पष्ट बहुमत रहेको भएपनि एमालेको अवरोधकै कारण संसदबाट बजेट पारित हुननसक्दा सरकारी कोषको रकम समेत खर्च गर्न नपाउने अबस्थाको सिर्जना भएको थियो । सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसद अवरोध गरेको थियो ।

यसपालि भने संसद अवरोध गर्नुको कारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानविपरित काम गरेको आरोप एमालेको छ । त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सट्टामा भारतले बंगलादेश जाने जमिन दिए सहमति हुनसक्ने अभिव्यक्ती दिएपछि त्यसको जवाफ समेत एमालेले मागेको छ । त्यस्तै रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयका बारेमा समेत एमालेले प्रश्न उठाएको छ ।

अघिल्ला वर्षमा एमाले एक्लैले संसद अवरोध गर्ने गरेको भएपनि यसपालि भने एमाले एक्लो छैन । संसदमा पहिलोपटक उपस्थिती जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी समेत एमालेसँगै संसद अवरोधमा उत्रिएका छन् । र विपक्षी दलहरुको गठबन्धन बन्नसक्ने लक्षण समेत देखिएको छ ।

सरकारविरुद्ध मोर्चावन्दी हुनसक्ने देखिएको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउँदै आएको छ । यसको मतलव कतिपय विषयमा सरकारलाई समेत सहयोग गर्नसक्ने रास्वपाले बताउँदै आएको छ ।

यता केपी ओली नेतृत्वको सत्तासहयात्री दल रास्वपा र राप्रपाको एउटै स्वर हुनुलाई भने संयोगमात्रै मान्न सक्ने अबस्था भने छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ९ : १८ बजे