Logo

Breaking News 1

मोरङको रतुवामाईमा मरेका मान्छेले थापे वृद्धभत्ता !



मोरङ । मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेलसमेतको मिलेमतोमा नागरिकता किर्ते गरी मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको पाइएको छ । हामीलाई प्राप्त समाचारअनुसार स्थानिय राजनितिकर्मी मेघदिप पोख्रेलकी जेठी पत्नी तुलसा देवी पोख्रलको २०७५ सालमा ६० वर्षको उमेरमा मृत्यु भएपछि मृतकको नागरिकता दुरुपयोग गरी पोख्रेलले आफ्नी कान्छी पत्नी तारादेवी पोख्रेललाई प्रयोग गरि वडा कार्यालयमार्फत केही वर्षदेखि लगातार वृद्धभत्ता बुझ्ने गरेको पाइएको हाे ।

पोख्रेलकी जेठी पत्नीको नेपाली नागरिकता प्रमाणपत्रमा जन्म मिति २०१६ साल लेखिएकोमा निजको मृत्यु पश्चात वडा कार्यालयमा मृतकको मृत्युदर्ता नगरी २०१६ सालको नागरिकताको बीचको शून्य केरमेट गरी जन्म मिति २००६ साल कायम गरी वृद्धभत्ताको उमेर योग्यता पुर्‍याइएको पाइएको छ ।

मृतकको कागजपत्र किर्ते गरी वृद्धभत्ताको चाँजोपाँजो मिलाउन तत्कालिन वडा अध्यक्ष लुइटेलको प्रष्ट मिलेमतो देखिएको छ । वडाध्यक्ष लुइटेलले मृतकको नाममा वृद्धभत्ता भुक्तानी सहज गर्न स्थानिय बैंकमा खाता खोल्न सिफारिससमेत गरिदिएका थिए । २०७८ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा लुइटेल दोश्रो कार्यकालको लागि पुनः निर्वाचित भएका थिए । मेघदिप पोख्रेल लुइटेललाई जिताउन बनेको निर्वाचन परिचालन कमिटीका वडा कमाण्डर थिए ।

पोख्रेल हाल नेकपा एमाले रतुवामाई नपा वडा नं ६ का एमाले वडा इन्चार्ज र नगर कमिटी सदस्यसमेत हुन् । स्थानिय युवाहरुले वृद्धभत्ताको दुरुपयोग भइरहेको सूचना पाएपछि केही समय अगाडि छानबिन गरेको थिए । स्थानिय युवाहरुले वडामा तीब्र दबाव दिएपछि वडाध्यक्ष लुइटेलले गल्ति भएको कुरा स्विकार गर्दै वडा सचिवमार्फत एमाले स्थानिय नेता मेघदिप पोख्रेलबाट हालसम्म जम्मा भएको रकम वडालाई फिर्ता गर्न निर्देशन दिँदै विज्ञप्तिसमेत निकालेका थिए ।

त्यस्तै, ऐना खबरलाई प्राप्त अर्को समाचारअनुसार रतुवामाई नगरपालिकाकै वडा नं. ८ का निवर्तमान वडाध्यक्ष नन्द कुमार चापागाई (गोपी)ले निजको कार्यकालमा अवकास प्राप्त दवाडि थरका एक शिक्षकको मृत्यु भइसकेपछि निजकी विधवा पत्नीलाई एकल महिला भत्ता वितरण गरेको पाइएको छ । स्मरणिय के छ भने, स्वर्गिय दवाडि स्थानिय सरस्वति माध्यमिक विध्यालयका अवकास प्राप्त शिक्षक भएको र निजको मृत्यु पश्चात निजकी श्रीमतीले आफ्ना पतिको अवकास वापतको आधा पेन्सन समेत प्राप्त गरिरहेकी छन् । विध्यमान व्यवस्थामा कुनै पनि व्यक्तिले राज्यबाट दोहारो सेवा सुविधा लिन नपाउने कानूनी व्यवस्था रहेको छ ।

आफ्नो कार्यकालमा वडाको स्थानिय पूर्वाधार निर्माणमा चरम भ्रष्टाचारको आरोप लागेका पूर्व वडाध्यक्ष चापागाईलाई गत स्थानिय निर्वाचनमा आफ्नै पार्टिमा रहेका भ्रष्टाचार विरोधी स्थानीय युवाहरुले हातपातसमेत गरेका थिए । वडा अध्यक्ष हुनु अघि स्थानिय इटहरा बजारमा सामान्य पुस्तक पसल गर्ने चापागाई कार्यकाल सकिए लगत्तै एमाले युवाहरुको दबावमा मेयरको टिकट नपाएपछि रतुवामाई नपा वडा नं. ६ मा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । चापागाई हाल नेकपा एमालेका जिल्ला कमिटी सदस्यसमेत हुन् । रतुवामाई नगरपालिका मोरङ जिल्लाको पूर्वी दक्षिण भागमा रहेको नगरपालिका हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३२ बजे