Logo

मुख्य समाचार

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा



धनगढी । आन्दोलित कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका छन् । क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलित बनेका हुन् । उनीहरूले क्याम्पसमा तालाबन्दीसमेत गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ । कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो ।

विश्वविद्यालयले समायोजन हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनु परेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेकोमा त्यो पुरा नभएको उनीहरूको गुनासो छ ।

यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो । तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको प्रध्यापक संघका सभापति सापकोटाले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको गुनासो छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : १३ बजे