Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज अनुसन्धान प्रतिवेदन बुझाउने भनिएको भएपनि प्रहरीले थप अनुसन्धानका लागि तिन दिनको समय माग गरेपछि अदालतले म्याद थपेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : १९ बजे