काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई निलम्बन गर्नुपर्र्ने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पार्टीले बोक्न नहुने बताएका हुन् ।
महामन्त्री थापाले मुद्दा लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने र अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने बताए ।
‘पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु, गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’ उनले भने ।
यसअघि आजैमात्रै कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले शरणार्थी प्रकरणमा पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने विषयमा पार्टीभित्र एकमत रहेको दाबी गरेका थिए । तर आजै महामन्त्री थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया