Logo

Breaking News 1

गृहमन्त्री र प्रधानमन्त्रीलाई बधाई दिदै गगन थापाले भने– शरणार्थी प्रकरणमा नेता होस् कि नाता होस् कारबाही हुनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कसैले पनि दबाव र प्रभाव दिन नहुने बताएका छन् ।

प्रतिनिधिसभामा जारी बजेटपूर्वको छलफलका क्रममा थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’ उनले भने ।

थापाले निर्दोषलाई फसाउन नहुने र दोषी भए जोसुकैलाई कारबाही गर्नुपर्ने भन्दै भने,‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : २४ बजे