Logo

खेलकुद

नेपालसँग विश्वकप छनौट खेल्ने १० टिमको टुङ्गो लाग्यो



काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने एकदीवसिय विश्वकपका लागि जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुंगो लागेको छ ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित भई नतिजाविहीन बनेपछि आयरल्याण्डले विश्वकप छनोट खेल्ने निश्चित भएको हो ।

आयरल्याण्डले छनोट खेल्दा फाइदा भने दक्षिण अफ्रिकालाई भएको छ । दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको हो ।

छनोटमा ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै खेल्नेछन् । सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहँदै विश्वकप छनोट खेल्दैछ ।

यस्तै स्कटल्याण्ड, ओमान र नेपालले क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका थिए । यस क्रममा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकालेर शीर्ष तीनमा स्थान बनाएको थियो ।

यस्तै अमेरिका र यूएईले क्वालिफायर प्लेअफमा शीर्ष दुई स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका हुन् । अब यी १० टोलीबीच फाइनल पुग्ने दुई टोली भारतमा हुने वान डे विश्वकप खेल्नका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे