Logo

Breaking News 1

कहाँ छन् टोपबहादुर रायमाझी, प्रहरी अनुसन्धानप्रति एमालेको आशंका किन ?



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम असुल गर्ने गिरोहसँग साँठगाँठ गरेको भन्दै पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी अझै पक्राउ पर्न सकेका छैनन् ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए । सभामुख देवराज घिमिरेसँगै एक विद्यालयको हिरक महोत्सवमा सहभागी भएका उनलाई स्थानीय प्रहरीले सुरक्षा समेत दिइरहेको थियो । पक्राउ पुर्जी जारी भएकोबारे स्वयं रायमाझी भने जानकार थिए ।

उनले आफु काठमाडौं जान लागेको प्रतिक्रिया दिएर भैरहवा बिमानस्थलतर्फ समेत लागेका थिए । बुधबार साँझ ९ बजेको जहाजको टिकट भएपनि अन्तिममा सभामुख घिमिरेमात्रै काठमाडौं फर्किए । रायमाझी भने बुधबार बेलुका ९ बजेपछि सम्पर्कविहिन छन् ।

बिहिबार दिउँसो २ बजेतिर प्रहरी कार्यालयमा आफै आउने भनेका समाचार सार्वजनिक भएपनि प्रहरीले भने स्वतन्त्र पुष्टि गरिसकेको छैन । यसबिचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे ।

भेटवार्तापछि अध्यक्ष ओलीले शुक्रबार पक्राउ गरेको, फरार भएको जस्ता खबर सुनेको भन्दै भने, ‘एउटा सांसद, पटकपटक मन्त्री भइसकेको पार्टीको नेता बाटामा हिँड्दाहिँड्दै समाउनुपर्ने एकदम रहस्यपूर्ण छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको समेत ध्यानाकर्षण गराएको भन्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं । अध्ययन गरेपछि यसको निष्कर्ष निकाल्छौं ।’

अध्यक्ष ओलीले शंका गरेकाबारे एमालेले थप धारणा भने सार्वजनिक गरेको छैन । एमालेका नेताहरुले दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन् । तर एमालेले औपचारिक निर्णय भने केही गरिसकेको छैन । अध्यक्ष ओलीले रायमाझीका बारेमा प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि व्यक्त गरेका बेला रायमाझी भने सम्पर्कविहिन छन् । प्रहरीले भने भुटानी शरणार्थी प्रकरणमा अझै एकदर्जन बढि पक्राउ पर्नसक्ने बताउन थालेको छ ।

तर अर्घाखाँचीमा प्रहरी सुरक्षामै रहेका रायमाझी सम्पर्कविहिन बनेको भएपनि प्रहरीले भने खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ४१ बजे