Logo

Breaking News 1

कसरी पत्ता लाग्यो निरा पाण्डेको हत्या आरोपी ?



काठमाडौं । काठमाडौं कपनमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्या आरोपी आइतबार प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हत्या आरोपमा पक्राउ परेका झापाको मेचिनगर–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

निराको हत्याको १० दिनपछि प्रहरीले शनिबार झापाको धुलाबारी घर भएका विनोद विश्वकर्मालाई पक्राउ गरेको थियो ।विनोदले आफूले निराको हत्या गरेको भनेर स्वीकार गरेको प्रहरीले जनाएको छ ।

विनोदले बयानका क्रममा आफूले सिक्री लगायत गहना र नगद लुटपाट गर्न खोज्दा प्रतिकार गर्दै ‘आक्रमण’ गर्न खोजेपछि चक्कु प्रहार गरेको बताएका छन्। निराले आफूमाथि आक्रमण गर्न थालेपछि उनकै पसलमा रहेको चक्कु समातेर प्रहार गरेको विनोदले बयान दिएका छन्।

प्रहरीसँग विकले दिएको वयानअनुसार निरामाथि चक्कु प्रहार गरेपछि नगद तथा गहना लुटपाट गरेको र त्यहाँबाट भागेर आफ्नो डेरामा पुगेको बताएका छन् । चक्कु खोलामा फालेर, आफ्नो जिउको माथिको लुगा फेरेर कोठामा पुगेको र हत्याको ४ दिनसम्म कोठामै बसेर त्यसपछि झापास्थित घरमा पुगेको विनोदले बयानका क्रममा बताएका छन् ।

प्रहरीका अनुसार हत्या गरेपछि उनले कपनबाट काठमाडौंको ओम अस्पतालसम्म टेम्पो चढेको र त्यसपछि पठाओमार्फत् जडिबुटी पुगेको र अर्को मोटरसाइकलमार्फत् आफ्नो डेरा लोकन्थली पुगेको वयान प्रहरीलाई दिएका छन् ।

हत्या गर्ने बेला लगाएको कपडा उनले खोलेर झोलामा राखेर डेरामा पुगेको अनुसन्धानबाट देखिएको छ । प्रहरीका अनुसार विक कपनको सरस्वतीनगर आसपासमा पहिला पनि आउजाउ गरेको देखिएको छ । उनको आफन्त समेत त्यही बस्ने भएकाले उनी आउजाउ गरेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ३७ बजे