Logo

मुख्य समाचार

लुम्बिनि प्रदेश सरकार गठनका लागि राजनीतिक दललाई आह्वान



काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धन दुबैले सरकारमा दाबी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।

प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा पत्राचार गरेर सोमबार लिखित राय समेत मागेका थिए।

मंगलबार विज्ञप्ति जारी गर्दै शेरचनले वैशाख १४ गते ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर आउन आह्वान गरेका हुन्।

यसअघि चैत १२ गते नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले कांग्रेस नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर सहितको दाबी पेस गरिसकेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०० बजे