Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले विश्वासको मत नपाउने, अब कांग्रेस माओवादी सरकार



काठमाडौं । गण्डकी प्रदेश सरकारले विश्वासको मत नपाउने करिब निश्चित भएको छ ।

१ सय ५ दिनअघि गठन भएको मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले आज विश्वासको मत लिदैछ । चैत १० गते तत्कालिन समयमा सरकारमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् ।

तर अहिलेकै अबस्थामा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित देखिएको छ । अहिलेको सरकारलाई एमालेबाहेकको राप्रपाले मात्रै समर्थन कायमे राखेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मतका लागि अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर अधिकारीलाई एमालेका २२ र राप्रपाका दुई सांसद मात्र मत दिनेछन् ।

अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रे, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सरकार बन्नेछ । कांग्रेसका २७ र सभामुख बाहेक ७ सदस्य माओवादी केन्द्रका रहेका छन् भने नेकपा एकीकृत समाजवादीका राजीव गुरूङ (दीपक मनाङे) पनि सरकारमा सहभागी हुने देखिएको छ ।

अब गण्डकी प्रदेशमा कांग्रेस–माओवादीको आलोपालो सरकार बन्ने करिब निश्चित भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ०० बजे