काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो ।
नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए ।
आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो । रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन् । अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ ।
प्रतिक्रिया