Logo

Breaking News 1

चुनावको पूर्वसन्ध्यामा दलका नेतालाई भ्याइनभ्याई



काठमाडौं । सत्तारुढ दलका शिर्ष नेताहरुले उपचुनावका लागि देशव्यापी दौडाहा गरेका छन् ।

यसअघि तनहुँ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगाएतका नेताहरु बिहिबार भने बारा पुगे । यसअघि तनहुँमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका नेताहरुले बारामा भने गठबन्धन जोगाउन पनि जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जीत्नुपर्ने बताए ।

गत मंसीरमा सम्पन्न आमचुनावमा आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएका नेताहरु यसपालि भने उपचुनाव हुने जिल्ला जिल्लामा पुगेका हुन् । उनीहरुले आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

यता बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पुर्ण शक्ति भने चितवनमा परिचालन भयो । बिहिबार मात्रै सभापति रवि लामिछानेसहित तनहुँमा उम्मेदवारी दिएका स्वर्णिम वाग्लेसहित रास्वपाका अधिकांश नेताहरु चितवन पुगे । जहाँ उनीहरुले समेत सभापति लामिछानेका लागि मत मागे ।

यता बिहिबारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत बारा पुगे । आफ्ना उम्मेदवार पुरुषोत्तम पौडेललाई भोट माग्न पुगेका ओलीले सरकारको काम कारबाहीका बारेमा प्रश्न उठाएका छन् । उनले अहिलेकै सरकार कायम रहे प्रहरीले पोशाक समेत लगाउन नपाउने र ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता समेत कटौती हुनसक्ने दाबी गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि प्रवक्ता ज्ञानेन्द्र शाहीसहितका नेताहरुसहित बिहिबारै बारा पुगे । राप्रपाले बारा, तनहुँ र चितवनमा एकल उम्मेदवारी दिएको छ । यता जनमत पार्टीका अध्यक्ष सीके राउत समेत बारा पुगेर आफ्ना उम्मेदवारलाई मत मागे ।

निर्वाचन आयोगले बिहिबार रातीदेखि प्रचार प्रसारमा रोक लगाएका कारण दलका नेताहरु अन्तिम चुनावी सभामा सहभागी हुन जिल्ला दौडाहामा निस्किएका हुन् । चुनाव भने बैशाख १० गते हुँदैछ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ७ : ४९ बजे