Logo

कोशी

नेत्र ज्योती संघ खोटाङको सभापतिमा पुनस् कसजु



खोटाङ । नेपाल नेत्र ज्योती संघ खोटाङको सभापतिमा पुन: इन्द्र कसजु दोहोरिएका छन् । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न पाँचौं जिल्लासभा तथा अधिबेसनबाट कसजु सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

२०७५ फागुन २५ गते सम्पन्न चौथो अधिबेसनबाट नेत्र ज्योती संघको सभापति चुनिएका कसजु यथास्थानमा दोहोरिएका हुन् । २०५४/०५५ सालदेखि आँखा उपचार शिबिरमा स्वयंसेवकका रुपमा खट्दैआएका कसजु २०६२ सालमा संघको आजीवन सदस्य बनेका थिए ।

१३ सदस्यीय नेत्र ज्योती संघको सदस्यमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का (विनोद) सर्वसम्मत चयन भएका छन् ।

जिल्लासभा तथा अधिबेसन प्रमुख अतिथिका रुपमा संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, विशिष्ट अतिथिका रुमिा प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्यामसुन्दर उदाश लगायतले उद्घाटन गरेका थिए । २०६० साल बैसाख १५ गते स्थापना गरिएको नेपाल नेत्र ज्योती संघमा हाल ९९ आजीवन सदस्य छन् । संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित आँखा जाँच, औषधि वितरण तथा चश्मा वितरण एवं नि:शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दैआएको छ । विगत दुई वर्षको अवधिमा करिब ३० हजारको आँखा जाँच गरेर औषधि र चश्मा वितरण गर्नुका साथै दुई हजार पाँच सय बढीको मोतिविन्दुको अप्रेसन गरिएको सभापति कसजुले जानकारी दिए ।

संघले आँखा उपचार केन्द्रको सेवालाई स्तरवृद्धि गर्ने, भवनको तला थप गरी १० बेडको सेकेन्डरी बेस हस्पितलमा पुर्‍याउने तीन/तीन महिनामा अप्रेशन गर्नेगरी सर्जिकल सेन्टर बनाउने लगायतका १५ बुँदे भावी कार्यक्रम तय गरेको छ । अन्धोपन निवारण सर्भेक्षण अनुसार जिल्लामा शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामी एक हजार पाँच सयभन्दा बढी रहेको अनुमान छ ।

पत्रकार राई र आँखा उपचार केन्द्र प्रमुख श्रेष्ठ सम्मानित 

नेपाल नेत्र ज्योती संघले पत्रकार दमन राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख हरिहर श्रेष्ठलाई सम्मान गरेको छ । संघको पाचौँ जिल्लासभा तथा अधिवेशनको अवसरमा पत्रकार राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेत्र ज्योती संघबाट सञ्चालन हुने गतिविधि लगायत आँखा सेवाका महत्वपूर्ण पक्षलाई उजागर गर्नेदेखि अन्धकारमय जीवनबाट उज्यालो संसारमा परिणत भएको महसुसजन्य समाचारलाई स्थानीय र राष्ट्रिय स्तरमा सुसूचित गर्ने कार्यमा महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योती संघका सभापति कसजुले बताए । २०६३ सालदेखि पत्रकारिता सुरु गरेका राई नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै, आँखाको उपचारका क्षेत्रमा २० वर्षदेखि अनवरत रुपमा सेवा गरिरहेका श्रेष्ठलाई सम्मान गरिएको नेत्र ज्योती संघले जनाएको छ । नेत्र ज्योती संघको पहलमा सञ्चालन भइरहेको आँखा उपचार केन्द्र दिक्तेल लगायत जिल्लामा आँखा सम्वन्धी उपचार, रोकथाम र चेतनामुलक कार्यक्रमलाई सुव्यस्थित गरी दृश्यविहिनलाई दृष्टि दिलाउन एबं ज्योतिर्मय आँखाको वातावरण सिर्जना गर्न तथा समुदाय स्तरमा घुम्ती शिबिर, ज्येष्ठ नागरिक आँखा जाँच, शल्यक्रिया शिबिरमार्फत मानव सेवामा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको सभापति कसजुले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : ४३ बजे