Logo

मुख्य समाचार

देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको बाबुराम भट्टराईको टिप्पणी



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको बताएका छन् । उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राष्ट्रिय सम्मेलनको संघारमा रणनीतिक र संरचनात्मक रूपान्तरणका विषयमा विमर्श गर्न आह्वान गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर अरूको विचौलिया बनेर बँच्ने अवस्थामा पुगेको आरोप लगाए । बिहीबार ट्विट गर्दै उनले भनेका छन्, ‘देशको अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गैरहेछ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म ?’

टाउकाको ओखती नाइटामा भनेझैं अर्थतन्त्रबारे देश तत्कालीन र सतही कुरामा केन्द्रीत भइरहेको बताए । सुगौली सन्धीयता देशको वैदेशिक व्यापार घाटा १५ गुणा नाघेको उल्लेख गर्दै उनले हिजो औद्योगिक वस्तुमा मात्रै परनिर्भर भएकोमा अब नेपाल कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दै गएको बताएका छन् ।

रणनीतिक र संरचनात्मक रूपान्तरणको काम गर्नुपर्ने बताउँदै उनले अर्थतन्त्रका चार समस्या उठाएका छन् ।

१. हाम्रो औसत प्रतिव्यक्ति जीडीपी विश्वको भन्दा दश गुना कम छ। यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुइ अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० बर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ । जबकि हाम्रा छिमेकी र अरू एशियाली देशले यो वीचमा ठूलो फड्को हानिसके ।

२. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर पन्ध्र गुना नाघेकोछ ।

३. खुला सीमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ । सस्तो श्रमनिर्यात र महँगो निर्मितवस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ । बाच्छाले सॉढेसंग जुध्न नसके झैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौं ।

४. हाम्रा उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमश:अरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन् । देशको अर्थतन्त्रराजनीति र राज्य विचौलियाहरूको कब्जामा गैरहेछ । हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन! यो कहिलेसम्म?

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ८ : २४ बजे