Logo

मुख्य समाचार

उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने बताएको छ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध भएका उजुरी लिनका लागि आयोगले मंगलबार (२१ चैत) लाई तोकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको पनि आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलले उम्मेदवार चयन गरिसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : २५ बजे