Logo

मुख्य समाचार

नेविसंघको अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट समूह रिले अनशनमा



काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेको छ । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने र उनको म्याद सकिइसकेकाले नयाँ कमिटी गठन गर्नुपर्ने लगायत माग राख्दै असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनशन सुरु गरेको हो । पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । केसीले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णय अनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा र पर्वतका विद्वान गुरुङलाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेका थिए । उनीहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयभित्र नेविसंघ अध्यक्ष शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले उनलाई पदमुक्त गरेर नयाँ कमिटी गठन गर्नुपर्ने र स्ववियु निर्वाचनताका उनले गरेका मनोनयन लगायतका निर्णय खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।

अध्यक्ष शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ३८ बजे