Logo

कोशी

खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी


१७ चैत्र २०७९, शुक्रबार  

368
Shares

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन् । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बिहीबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जोशीले १३८ मत ल्याउँदा आचार्यले ३३४ मत ल्याएका छन् ।

एकीकृत समाजवादीका जिल्ला सचिव रहेका आचार्य अन्य दलबाट टिकट नपाउँदा असन्तुष्ट व्यवसायीलाई समेटेर वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका थिए । महासचिवमा प्रतिस्पर्धी सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन् । बस्नेतले ३४१ मत ल्याउँदा श्रेष्ठले १२३ मत ल्याएका छन् । कोषाध्यक्षमा भने तीन दलीय गठबन्धनका युधिर शाक्य निर्वाचित भएका छन् । शाक्यले २६० मत पाउँदा प्रतिष्पर्धी नेत्र कट्वालले १८९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

जोशीको प्यानलबाट कुमार बजिमय (३७१), कृष्णकुमार श्रेष्ठ (मणि) (२७८), टंकप्रसाद आचार्य (३०३), रोशन शैंजु (३१३), विपिन श्रेष्ठ (२७७) र हिरालाल पुरी (२७२) बाणिज्य संघको सदस्यमा निर्वाचित भएका छन् । आचार्यको प्यानलबाट कैलाश भट्टराई (२५२) मात्र बिजयी भएका छन् । वाणिज्य संघको ६७१ मतदातामध्ये ४८० मात्रै खसेको थियो । तीन दलीय गठबन्धनकाबीच आचार्य र बस्नेतको प्यानललाई कतिपय एमाले नेताकै समर्थन मिलेको थियो ।

सात जना निर्विरोध
वाणिज्य संघको पदाधिकारी सहित १७ जनामध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध भएका हुन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३० बजे