Logo

Breaking News 1

गठबन्धनले टुंग्यायो मन्त्री भागबन्डा, सबै मन्त्रीको शपथ बिहीबार



काठमाडौँ । दश दलीय गठबन्धनले मन्त्रीहरुको संख्याको टुंगो गरेको छ। तीन दिनदेखि लगातार बसिरहेको गठबन्धन बैठकले सबै मन्त्रालयको भागबन्डा मिलाएको हो। गठबन्धनको भागबन्डा अनुसार गत फागुन १५ गते एमालेले छाडेका ८ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ। तर मन्त्रालय भने हेरफेर हुन सक्नेछ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय लिने भएको छ। अहिले माओवादीका चारजना मन्त्री छन्। अब माओवादीले थप एक मन्त्रालय पाउने भएको छ। त्यसैगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ। उसका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री हुने पक्का भएको छ।

उनीहरु दुवैको नाम बुधबार बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ। समाजवादीले अझै अर्को मन्त्रालय मागे पनि अब राज्यमन्त्री पाउने सम्भावना छ। त्यसैगरी जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्ने भएका छन्। एकजना अशोक राईको नाम पक्का भएको छ। अर्को नाम राजकिशोर यादव या प्रदीप यादवमध्ये एक हुनेछ।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्ने भएका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। उसका शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने भएको छ। उसले पाउने एउटा मन्त्रालयमा अध्यक्ष श्रेष्ठ आफैँ मन्त्री हुँदैछिन्।

अर्कातिर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रालय पाएको छ। उसका समानुपातिक सांसद अब्दुल खान अहिले नै खानेपानी मन्त्रीका रुपमा कार्यरत छन्। त्यसैगरी मंसिर ४ मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि एक मन्त्रालय पाएको छ।

बाबुरामको नेसपाबाट महिन्द्र राय यादव मन्त्री बन्दैछन्। उनी माओवादीको चुनाव चिह्न लिएर सर्लाही २ बाट विजयी भएका थिए। यो भागबन्डासँगै २२ वटा मन्त्रालयको हिसाब मिलेको छ। अब बाँकी तीनवटा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारमा २५ मन्त्री पग्नेछन्। संख्या बाँडफाँट मिलेकाले अब मन्त्रालय पनि तोकेर बिहीबार नै सबै मन्त्रीको शपथ हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताएका छन्। भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार भएर शपथ हुन्छु, उनले भने, ुसंख्या बाँडफाँट भएकाले अब कुन मन्त्रालय कसले लिने भन्ने कुरा पनि टुंगिन्छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : २३ बजे