Logo

मुख्य समाचार

प्रदेश सरकार फेरबदल कहिले होला ?



काठमाडौं । नेकपा माओवादी नेतृत्वको बाग्मती प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिने विषयमा सहमति नभएपछि बुधबार मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत लिन सकेनन् । जसका कारण प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले समेत सरकारको नेतृत्व लिनुपर्ने विषयमा पार्टीभित्र आवाज उठेपछि त्यसकै सुनिश्चितताका लागि कांग्रेसले बुधबार विश्वासको मत दिने विषयमा औपचारिक निर्णय गर्न सकेको थिएन । यता नेकपा एमाले सरकारबाट बाहिरिएपछि सबै प्रदेश सरकारहरु पुर्नगठन हुने अबस्थामा छन् ।

गठबन्धनबाट बाहिरिएको एमालेले सात प्रदेशमध्ये कोशी, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिमबाहेकको अन्य प्रदेशको मन्त्रिपरिषदमा एमाले सहभागी छ ।

केन्द्रमा एमाले सत्ताबाहिर पुगेपछि अब प्रदेश सरकार पनि फेरबदलको अबस्थामा छन् । लुम्बिनिमा पनि सरकार फेरिने निश्चित भएपनि सरकारको नेतृत्व कांग्रेसले पहिला गर्ने कि माओवादीले गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

यता बुधबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा समेत प्रदेश सरकारको नेतृत्वका बारेमा छलफल भएको छ । गठबन्धनको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रदेश सरकारको नेतृत्व र संघीय मन्त्रिपरिषद् विस्तार प्याकेजमै गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

बैठकमा छलफल भएपनि प्रदेश सरकारको नेतृत्व कुन दलले कति समय गर्ने भन्ने टुङ्गो नलागेका कारण प्रदेश सरकारहरु अलमलमा देखिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ३४ बजे