Logo

Breaking News 1

संसदमा किन बोलेनन् एमाले अध्यक्ष ओली ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दोस्रोपटक विश्वासको मत लिएका छन् । यसअघि पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले सोमबार दोस्रोपटक सपथ लिएका हुन् । पुस २६ गतेको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चर्को आलोचना गरेका थिए ।

दाहाललाई विश्वासको मत दिएपछि आशंकित ओलीले कांग्रेसले ढोक्सा थाप्न खोजेको भन्दै ढोक्सामा माछा नपर्ने बताएका थिए । तर कांग्रेसले विश्वासको मत दिएपछि राजनीति अहिलेको अबस्थामा आइपुगेको छ । कांग्रेसको समेत समर्थन पाएपछि एमाले अध्यक्ष ओलीको पेलानमा परेका प्रधानमन्त्री दाहाल अन्ततः कांग्रेससहितको गठबन्धनमा सामेल भइसकेका छन् ।

पुस २६ गतेको संसद बैठकमा धुँवादार भाषण गरेका ओली सोमबार भने संसद बैठकमा केही बोलेनन् । उनी आफु मात्रै नबोलेको होइन, उपनेता सुवास नेम्वाङलाई पनि बोल्न दिएनन् । र पूर्वअर्थमन्त्री समेत रहेका सांसद विष्णु पौडेललाई बोल्न लगाए ।

संसद बैठकमा सरकारले विश्वासको मत लिनु सामान्य विषय विषय होइन । संसदीय अभ्यासअनुसार यस्ता बैठकमा दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । त्यसैअनुसार कांग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरले समेत सम्बोधन गरे । तर ओली भने मौन बसे ।

यसले प्रचण्ड नेतृत्वको सरकारले लिएको विश्वासको मतलाई अध्यक्ष ओलीले धेरै महत्व नदिएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ५४ बजे