काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन् । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए ।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला बलिङको निम्तो पाएको छ । नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ । करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन् ।
यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।
लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।
नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।
नेपालको प्लेइङ–११
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
प्रतिक्रिया