Logo

Breaking News 1

संकटमा सत्ता गठबन्धन, पुरानै समिकरण बन्ने संंकेत

सत्ता गठबन्धनमा किचलो


११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रपति चुनावको विषयलाई लिएर सत्ता गठबन्धन संकटोन्मुख देखिएको छ । बुधबारदेखि शुरु भएको दलका शिर्ष नेताहरुको दौडधुप बिहिबार दिनभर तिव्र बनेको थियो । बिहिबार मात्रै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा सहभागी नभएका दलका नेताहरुसँग निरन्तर छलफल गरेका थिए ।

बिहिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रधानमन्त्री दाहालले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग छलफल गरेका थिए । त्यसलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुलाई भेटेका उनले साँझ फेरि नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

बिहिबार बेलुका कांग्रेससहितका दलहरुसँग अर्थात् चुनावअघिको गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्ने तयारी भएपनि समय नपुगेको भन्दै शुक्रबार बिहानका लागि बैठक सारिएको बताइएको छ । शुक्रबार बिहानसम्ममा कांग्रेससहितका दलहरुसँगको बैठकपछि अहिलेको गठबन्धन के हुने टुङ्गो लाग्ने नेताहरुले बताएका छन् ।

यता प्रधानमन्त्री दाहाल दिनभर राजनीतिक भेटवार्तामा सहभागी भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने आफ्नो जन्मदिन मनाउन व्यस्त रहे । दिउँसो केपी ओली कप फुटबलको उद्घाटनमा पुगेका उनी बेलुका भने आफ्नै निवास बालकोटमा आयोजित सांगितिक कार्यक्रममा सहभागी भए ।

बिहिबार बिहान भएको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै दल समेत सहभागी गरेको निर्णयको चर्को आलोचना गरेका थिए । सरकारले फागुन एक गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेको विषयमा अध्यक्ष ओलीले बिहिबार मात्रै आलोचना गरे । सार्वजनिक विदा दिने निर्णयको आलोचना गर्नुलाई समेत सत्ता गठबन्धनमा भएको खटपट नै रहेको छ ।

यता प्रधानमन्त्री प्रचण्डले भने शुक्रबार बिहान एकपटक एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने तयारीमा लागेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको एजेण्डा अघि सारेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेटेपछि अहिलेको सत्ता गठबन्धनको भविष्य समेत निर्धारण हुने देखिएको छ । तर एमाले अध्यक्ष ओलीको बिहिबारको टिप्पणीलाई आधार मान्ने हो भने गठबन्धन संकटतर्फ मात्रै होइन, लगभग विघटनको डिलैमा पुगेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : १८ बजे