Logo

समाचार

लमजुङ अस्पतालमा नि:शुल्क डाइलासिस सेवा



लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले नि:शुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट नि:शुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो ।

केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा नि:शुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा। रमेश आचार्यले बताए ।

जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आ–आफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरीक कोषमा दर्ता भई आएपछि नि:शुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा। आचार्यको भनाई छ । अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए ।

डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ । अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिन सकिनेछ छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ ।

नि:शुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ । विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : १४ बजे