Logo

Breaking News 1

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालभोलि श्रीलंका जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा श्रीलंका जाने भएकी छन् । उनी बिहीबार (भोलि) श्रीलंका जाने तय भएको छ । श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभई सबैलाई एकमुष्ठ रूपमा दिइने बताइन् । उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन् ।

मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरूलाई पासपोर्टको समस्या परेकाले उनीहरूको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन् । पोर्चुगलमा ५०,६० हजार नेपालीहरू हुनुहुन्छ, उहाँहरूलाई पासपोर्टको धेरै नै जरुरी छ भन्नेकुरा आएको छ, हामीले मोबाइल टिम एक महिनाको लागि भएपनि तत्काल पोर्चुगल पठाउने निर्णय गरेका छौँ । त्यहाँको समस्या समाधान गर्ने सोचेका छौँ, उनले भनिन् ।

उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको जानकारी दिइन् । शुक्रबार मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ४८ बजे