Logo

खेलकुद

यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झा



काठमाडौँ । नेपाल क्रिकेट संघले यू-१९ राष्ट्रिय क्रिकेट टिम कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले यसबारे निर्णय गरेको हो । फागुन १४ र १५ गते सुर्खेतमा हुने संघको वार्षिक साधारणसभाबारे जानकारी दिँदै संघले नयाँ निर्णय सुनाएको हो । जसअनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई करारमा राख्ने पनि जनाएको छ । बोर्डले ती खेलाडीको सूची सार्वजनिक गर्दै ग्रेडिङ पनि गरेको छ । नयाँ ग्रेडिङ अनुसार रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी र आशिफ शेखलाई ग्रेड ए मा राखिएको छ । यस्तै आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई क्यानले ग्रेड बी मा राखेको छ ।

यस्तै कमल सिंह ऐरी, विनोद भण्डारी, गुलशन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजबंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सी मा राखिएको छ ।यस्तै, महिला खेलाडीहरुमध्ये रुविना क्षत्री, सीता रानामगर र इन्दु बर्मालाई ग्रेड ए मा राखिएको छ । ग्रेड बी मा पर्नेमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र बेगम अप्सरी ग्रेड सी मा परेका छन् । यसबाहेक, बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने पनि क्यानले निर्णय गरेको छ । उक्त निर्णय अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने बताइएको छ । यस्तै क्यानले अनुशासन उल्लंघनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन पनि फुकुवा गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ५७ बजे