Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछाने बिच भेटघाट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ । सरकार गठन हुँदाको सहमतिअनुसार पाएका मन्त्रालय रास्वपालाई नै दिन आग्रह गर्दै त्यसो नगरे सरकारबाट बाहिरिने जानकारी गराइएको हो ।

‘विगतमा भएको सहमति कार्यान्वयन भएन भने रास्वपा सरकारमा बस्दैन,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीले सहमति पालना गर्नु भएन भने घुस्रिएर सरकारमा बस्ने कुरा हुँदैन । कि पुरानो सहमति कार्यान्वयन हुनुपर्‍यो कि नयाँ सहमति हुनुपर्‍यो ।’ उनले सहमतिविपरीत सरकारमा बस्दा भोलि थप हेपिने अवस्था बन्न सक्ने बताए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी रास्वपाका सभापति रवि लामिछानेले सरकारका विषयमा समयमै निर्णय गर्न ‘अल्टिमेटम’ दिएका थिए । उनले आफूलाई उपप्रधान एवं गृहमन्त्रीमा पुनः नियुक्त गर्न माग गरे । उनले ६ महिनाभित्र हुने निर्वाचनबाट आफू पुनः सांसद भएर आउने आश्वासन समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने मन्त्री बन्न हतारो नगर्न सुझाव दिएका थिए । उनले राहदानीका विषयमा छानबिन भइरहेको र सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पनि आउन बाँकी रहेको भन्दै स्वार्थ बाझिने गरी मन्त्री नबन्न आग्रह गरेका हुन् ।

त्यसपछि सभापति लामिछानेले मंगलबार नै नेकपा (एमाले)का अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका थिए । अध्यक्ष ओली लामिछानेलाई तत्काल मन्त्रीमा नियुक्त गरी गठबन्धन जोगाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ३३ बजे