Logo

समाचार

लोकतन्त्रको एकमात्र पर्याय नेपाली कांग्रेसको लोगो थुत्ने प्रयास हुदैछ : नेता महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महरले मुलुकमा सधैँ अप्ठ्यारो पर्दा कांग्रेसले नै निकास दिने भएकाले कांग्रेस नै जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची भएको बताए ।

ुगठबन्धन गरेर चुनावमा जानु प्रतिउत्पादक हुन्छ भनेर मलगायत केही नेताले भनेका थियौं । तर, तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन र संघीयताको रक्षा गर्नै पर्ने बाध्यता कांग्रेससामू थियो । त्यसैले हामीले प्रतिउत्पादक हुन्छ भन्ने जान्दाजान्दै पनि गठबन्धन गर्‍यौं । यो मुलुकको हितका लागि थियो,ु उनले भने । त्यसपछि सिर्जित अवस्थाका बारेमा कांग्रेस केन्द्रीय समिति बैठकमा गहन छलफल हुने उनले प्रस्ट पारे ।

उनले नेपालमा लोकतन्त्रको एकमात्र पर्यायवाची कांग्रेसमात्रै हो भन्ने लोको र स्लोगनलाई थुत्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अब रुपान्तरित र समय सापेक्ष पार्टी आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल भइ गति निर्धारण हुने बताए ।

आफूसमेत नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापक अध्यक्ष रहेको स्मरण गर्दै महरले भने, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, कान्तिपुरलगायत थुप्रै स्थानीय पत्रपत्रिकामा पनि आफैँ सम्पादक भएर मैले काम गरे । हामी रातभर पत्रिका प्रकाशन गर्थ्यौ । दोस्रो, तेस्रो दिन लगायर पत्रिका डडेल्धुराबाट महेन्द्रनगर पुग्दा खबर बासी भइसकेको हुन्थ्यो । त्यो समय अहिले परिवर्तन भएको छ । अहिले आफ्नो प्रभावकारिता देखाउन अब्बल साथीहरू तयार भइसक्नुभएको छ । यसमा धेरै खुसी लागेको छ । पार्टी र संगठनभित्र असामञ्जस्यता हुने भए पनि त्यसको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने महरले धारणा राखे।

उनले कांग्रेसलाई कसरी सशसक्त बनाउने भनेर प्रेस युनियनलगायत सबै भ्रातृ संस्थाहरू आ-आफ्नै दायीत्व हुने बताए । सरकार जहिले पनि जनताप्रति अनुत्तरदायी र निरंकुस हुने प्रयास गर्छ । त्यो समयमा लोकतन्त्रमा विश्वास राख्ने पत्रकारको कलमले निरंकुस सत्तालाई नियन्त्रणमा राख्ने प्रयास गर्छ । र, सत्ता समाजको रुपान्तरणतर्फ लाग्छ, महरले भने।

समाजभित्र उठेका थुप्रै विषयलाई जस्ताको त्यस्तै पस्केर पत्रकारले समाज परिवर्तन चाहिरहेको नजीरलाई भुल्न नहुने उनको तर्क छ। महरले कम्युनिस्टहरूलाई प्रजातान्त्रिकीकरण गर्ने दायित्व पनि पत्रकार र प्रेस युनियनकर्मीहरूको बढी रहेको बताए । नेपाली राजनीतिमा सत्ताश्वार्थमा कमुनिस्टहरू बढी रम्ने आरोप लगाउँदै महरले उनीहरूको कम्युनिस्ट मुकुन्डो उघ्रिने क्रममा रहेको बताए ।

पत्रकारको अधिकारको लागि कानुन बन्ने क्रममा रहेको बताउँदै महरले यतिबेला पत्रकारमैत्री अधिकार निर्माणका लागि पत्रकारहरूको पनि सहभागीता रहनुपर्ने बताए ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : १५ बजे