Logo

समाचार

‘पूर्ण खोप जिल्ला’ घोषित बाँकेमा दादुराको कारण बच्चाको मृत्यु, २८ जना सङ्क्रमित



बाँके । बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराका कारण ३१ महिने बच्चाको मृत्यु भएको बताए । पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका ५, ७ र ८ नम्बर वडामा २८ जना बालबालिकामा दादुरा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालाय बाँकेले जनाएको छ । सुपरभाइजर श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ६ जना एउटै परिवारका बालबालिका हुन् ।
सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । दादुरा संक्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता बिमिरा आउनुका साथै आँखा रातो हुने लक्षण देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुदीन राईले दादुरा सङ्क्रमण नियन्त्रणभन्दा बाहिर नगएको उनको दाबी छ । पहाडी र मुस्लिम समुदायका केही बालबालिकामा दादुुरा सङ्क्रण पुष्टि भएको उनको भनाइ छ ।

उनले भने, ‘पूर्ण खोप जिल्ला भनेर अघिल्लो स्थानीय सरकारले घोषणा गरेको हो, किन अहिले सङ्क्रमण देखियो भन्ने थाहा छैन, परिस्थिति कसरी नियन्त्रणबाहिर जान नदिने भनेर तयारी अवस्थामा बसेका छौँ ।’
स्वास्थ्य विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादराविरुद्धको खोप दिइन्छ । उक्त खोप निःशुल्क उपलब्ध हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर श्रेष्ठले दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएको बताए । उनी भन्छन्, ‘केहीले अहिलेसम्म खोप नै लगाएका छैनन् भने केही पूर्णमात्रामा खोप नलगाएको पाइयो ।’

यस्तै, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका पूर्वप्रमुख डाक्टर झलक शर्मा गौतमले पूर्ण खोप जिल्ला
भनेर घोषणा गरिएका जिल्लाका केही स्थानमा बेलाबेला दादुरा सङ्क्रमण पुष्टि हुने गरेको सुनाउँछन् ।

यस अघि पनि काठमाडौंको पेप्सीखोलास्थित ईटा भट्टामा काम गर्ने बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । खोपबारे जानकारी न्यून भएका केही समुदायले बालबालिकालाई दिनुपर्ने नियमित खोप लगाउन चासो नदिँदा समस्या हुने गरेको डा. शर्माको भनाइ छ ।

सन् २०२३ सम्ममा नेपालले दादुरा रोग निवारणको लक्ष्य राखेको छ । सन् २०२२ मा सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले दादुरा, क्षयरोग, बी.सी.जी.पोलियो लगायत बालबालिकालाई दिइने नियमित खोपको कभरेज पछिल्लो पाँच वर्ष यता ४ प्रतिशत बालबालिकाले नलगाएको देखाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १ : ०३ बजे