Logo

मुख्य समाचार

समानुपातिकमा एमाले पहिलो भएको भन्दै ओलीले दिए मतदातालाई धन्यवाद



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा धन्यवाद दिएका छन् । नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ ।

मंसिर ४ मा भएको चुनावमा एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ ।

समानुपातिकमा दोस्रो धेरै मत ल्याएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मतमात्रै ल्याएको थियो । कांग्रेसभन्दा धेरै मत ल्याएको एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ ।

एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो । प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ । प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ । एमालेका ७८ जना सांसद छन् ।

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकोमा मतदातालाई धन्यवाद दिएका हुन् ।

२०७४ सालमा वामगठबन्धन गरेर चुनावमा गएको एमालेले अहिलेको तुलनामा धेरै सिट जितेको थियो । त्यसबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधि सभामा १२१ सिट जितेको थियो ।

यसपालिको चुनावमा पनि एमालेले केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ४४ बजे