Logo

मौसम

निर्वाचनको प्रचारप्रसारमा उत्रेकालाई मौसमको साथ, अबका तीन दिन ठूलो पानी नपर्ने



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु खटिएका छन् ।

निर्वाचनको प्रचारप्रसारमा खटिएका नेता तथा कार्यकर्तालाई मौसमले पनि साथ दिएको छ । आगामी तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना छैन, जसले गर्दा उम्मेदवार, नेता तथा कार्यकर्ताहरु निर्धक्क भएर प्रचारप्रसारमा लाग्न पाउने छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन प्रचारप्रसारलाई अवरोध गर्ने गरी देशको कुनै पनि स्थानमा पानी पर्नेछैन ।

आज प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार दिउँसो देशको पहाडी  भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको  हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना छ ।

बुधबार दिउँसो देशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दूई स्थान हल्का हिमपातको संभावना रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ०३ बजे